नेपाली इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएसन स्थापना भएको गौरवमय पचास वर्ष पुगेको अवसरमा जापानस्थित नेपाली इन्जिनियरहरुले टोकियोमा स्वर्ण महोत्सव कार्यक्रम आयोजना गरेका छन्। नेपाल इन्जिनियर्स एसोसिएसन जापान सेन्टरको आयोजनामा भएको उक्त कार्यक्रम नेपालको सन्दर्भमा उद्यमशीलता र विकासका लागि इन्जिनियरहरु’ विषयक एकदिने गोष्ठीसहित सम्पन्न भएको थियो।
उद्घाटन, किनोट प्रस्तुति, अनुसन्धान प्रस्तुति र प्यानल डिस्कसन गरी चार भागमा बाँडिएको महोत्सव कार्यक्रमको उद्घाटन सत्रमा नेपाल इन्जिनियर्स एसोसिएसन जापान सेन्टरका अध्यक्ष डा नेत्रप्रकाश भण्डारीले सहभागीहरुलाई स्वागत गर्दै नेपाल इन्जिनियर्स एसोसिएसन तथा यसको जापान सेन्टरका बारेमा संक्षेपमा प्रकाश पार्नुभएको थियो। सो सत्रमा प्रमुख अतिथिको आसनबाट बोल्दै जापानका लागि महामहिम नेपाली राजदुत डा मदनकुमार भट्टराईले नेपाली समाजले इन्जिनियरहरुलाई दिएको उच्च स्थान र इन्जिनियरहरुबाट अपेक्षित भूमिकाको बारेमा चर्चा गर्नुभएको थियो भने अतिथिहरु एनआरएन जापानका महासचिव डा। राजेन्द्र पराजुली, नेसाजका कार्यकारी सचिव राजन भट्टराई तथा ट्युनेफका कोषाध्यक्ष डा प्रकाश शाक्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
मन्तव्यको चरण सकिएपछि महामहिम राजदुत डा। भट्टराईले नेपाल इन्जिनियर्स एसोसिएसन जापान सेन्टरको स्थापना तथा त्यसपछिका यसका गतिविधिहरुमा पुर्याउनुभएको अमूल्य योगदानका लागि वरिष्ठ सदस्य डा सूर्यराज आचार्यलाई प्रशंसा पत्रसहित सम्मान गर्नुभएको थियो। सम्मानित व्यक्तित्व डा आचार्यले सहकर्मीहरुबाट हुने यस किसिमको सम्मानको उच्च महत्त्व हुने बताउँदै कार्यक्रमको विशेष आमन्त्रित प्रस्तुतिको रुपमा राज्य पुनर्संरचनास् सही प्रश्नहरु विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उद्घाटन सत्रको संचालन नेपाल इन्जिनियर्स एसोसिएसन जापान सेन्टरका कार्यकारी सदस्य सत्य नारायण शर्माले गर्नुभएको थियो।
उद्घाटन सत्रपछिको किनोट सत्रमा डा वेदप्रसाद काफ्ले र डा नेत्रप्रकाश भण्डारीले क्रमशस् इन्टरनेट तथा मोबाइल संचार प्रविधि र हालै पोखराको सेती नदीमा आएको बाढीका प्रारम्भिक खोजहरुको बारेमा आफ्ना प्रस्तुतिहरु राख्नुभएको थियो। कार्यक्रमका अन्य प्रस्तोताहरुमा राष्ट्रिय भूकम्प प्रविधि समाज नेपालका कार्यकारी उपनिर्देशक रमेश गुरागाईँ, टोकियो इन्स्टिच्युट अफ टेक्नोलोजीका बुद्धरत्न श्रेष्ठ तथा टोकियो विश्वविद्यालयका प्रेमप्रकाश खत्री र रमेश पोखरेल हुनुहुन्थ्यो।
कार्यक्रमको अन्त्यमा नेपाल इन्जिनियर्स एसोसिएसनका पचास वर्ष र नेपालमा इन्जिनियरिङ् पेशा विषयमा प्यानल डिस्कसन राखिएको थियो। सो प्यानल डिस्कसनलाई डा। नेत्रप्रकाश भण्डारीले सहजीकरण गर्नुभएको थियो भने प्यानलिस्टको रुपमा डा सूर्यराज आचार्य, डा वेदप्रसाद काफ्ले तथा रमेश गुरागाईँले आ-आफ्ना विचार राख्नुभएको थियो। सो छलफलको निचोडका रुपमा इन्जिनियरिङ पेशाको मर्यादा कायम राख्न तथा व्यावसायिकता अभिवृद्धि गर्न इन्जिनियरहरु आफै सचेत हुनुपर्ने तथा नेपाल इन्जिनियर्स एसोसिएसनजस्तो पेशागत संस्थामा असभ्य स्तरको राजनीतिक अभ्यासलाई सबैले आ-आफ्नो ठाउँबाट निरुत्साहित पार्नुपर्ने कुरामा जोड दिइएको थियो। साथै इन्जिनियरिङ पेशाको गुणस्तर निश्चित गर्न तथा इन्जिनियरिङ अभ्यासलाई व्यवस्थित बनाउन प्रोफेसनल लाइसेन्सिङको व्यवस्था गर्नेतर्फ नेपाल इन्जिनियरिङ काउन्सिलको ध्यान जानुपर्ने विषयमा पनि सहभागीहरुले मत राखेका थिए।
सोही कार्यक्रमकै अवसर पारेर ब्लड क्यान्सरको उपचारको क्रममा रहेकी इन्जिनियर रोमा गुरुङको सहयोगार्थ साइतामा विश्वविद्यालयस्थित नेपालीहरुको संस्था साइदाइ परिवारले संकलन गरेको सहयोग राशी ४४,८०० जापानी येन सो संस्थाका तर्फबाट वरिष्ठ सदस्य डा झविन्द्र घिमिरेले नेपाल इन्जिनियर्स एसोसिएसन जापान सेन्टरका अध्यक्ष डा नेत्रप्रकाश भण्डारीलाई हस्तान्तरण गर्नुभएको थियो। सो रकम सेन्टरले संकलन गरेको रोमा गुरुङ कोषमा दाखिला हुने र अहिलेसम्म जम्मा भएको एकमुष्ठ रकम रोमा गुरुङको परिवारलाई हस्तान्तरण गरिने जानकारी दिइएको थियो।
टोकियो विश्वविद्यालयको मेगुरोस्थित कोमाबा रिसर्च क्याम्पसमा सम्पन्न कार्यक्रमको अन्त्यमा नेपाल इन्जिनियर्स एसोसिएसन जापान सेन्टरका सचिव तथा कार्यक्रम आयोजक समितिका संयोजक ध्रुव पन्थीले कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने इन्जिनियरिङ समुदायभित्र तथा बाहिरका सबै अग्रज र सहकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।
क्योटोमा पनि मनाइयो
यसैवीच क्योटोस्थित क्योटो बिश्वबिद्यालयको योसिदा क्याम्पसमा पनि इन्जिनियर दिवस मनाइयो । आगन्तुकहरुको स्वागतबाट सुरु भएको कार्यक्रममा इन्जिनियर ऋषिराम पराजुलीले आगन्तुकहरुलाई धन्यवाद दिंदै स्वागत गर्नुभएको थियो ।
दुई भागमा बाँडिएको कार्यक्रममा दुईवटा कार्यपत्र पेश गरिएको थियो । पहिलो सेसनको अध्यक्षता डा. हरिराम पराजुली र दोस्रोको अध्यक्षता डा. सुरेन्द्र ताम्राकारले गर्नुभएको थियो । दुवै चरणमा सहभागीहरुवीच महत्वपूर्ण बिषयहरुमा छलफल र अन्तरक्रिया भएका थिए । अन्त्यमा डा. क्षितिजचरण श्रेष्ठले कार्यक्रम समापन गर्नुभएको थियो ।